बुधवार, माघ ०३ गते, २०७४
आइतवार, २०७२ कार्तिक ०१ गते १२:५८

- पीताम्बर पाण्डेय -

“आफ्नो ख्याल गर्नु, पुग्ने बित्तिकै फोन गर्नु। ट्रान्जिटमा पनि मेसेज गर है, म पनि गर्दै गर्छु” सरुको हात समाउदै कमलले बिछोडको बिलौना गर्दै थियो- “तिमी बिना मेरो हालत के हुने होला सरु?” कमल आफ्नी प्यारी सरुलाई त्रिभुवन विमानस्थलमा बिदाइ गर्दै थियो। “म फोन गरी हाल्छु नि काले, स्काइप पनि गरौँला। सरुले पनि कमलको आँशु पुछिदिँदै भनेकी थिई।

“सरु” अर्थात् ‘सरला’, प्लेनमा बसेर माथिको उचाइबाट पहिलो पल्ट तलका दृश्यहरुको आनन्द लिन्छे। उसलाई सबै कुरा नौलो लाग्छन्। ऊ आफ्नो सपनाको शहरमा जाँदै छे। १२ कक्षा सक्दा सक्दै आफ्नी एउटी साथीको अष्ट्रेलिया-प्रस्थान देखे पछि ऊ पनि हान्निएर अमेरिकाको लागी आवेदन हाल्न पुगेकी थिई, फ्याट्ट भिसा पनि लागि हाल्यो। हो, पढाईको लागि ऊ अमेरिका उड्दै छे। तर यो उडाइ सँगै १२ कक्षा पछि कहाँ के गर्ने, के पढ्ने भनेर काठमाडौंका सडक, पार्क र गल्लीहरुमा हिँड्दा कमल सँग बनाएका सबै योजनाहरु पनि उडेर गए।

 


सुन्दर ठाउँको मिठो कल्पनामा मस्त उसका मनमा अनेकौ तर्कनाहरु खेल्दा खेल्दै ऊ न्युयोर्क आइपुग्छे। चञ्चल स्वाभावकी ऊ अलि महत्वाकांक्षी पनि छे। अमेरिकामा पहिलो पाइला हाल्दाको फोटो खिच्न नपाएकोमा उसलाई खेद भईरहन्छ। काठमाडौंको खाल्डो बहिरको संसार कै अस्थित्वबोध नभएकी सरला यति विशाल ठाउँमा आउन पाउँदा उसको जमिनमा खुट्टा रहन्न। अब ऊ खुला आकाशमा स्वतन्त्र पंछी सरी उड्न चाहन्छे। दु:खम-सुखम पहिलो सेमेस्टरमा होस्टेललाई समेत पुग्ने गरी पैसा नेपाल बाटै ल्याएकोले तत्कालै काम खोज्ने चिन्ता पनि भएन। यहाँ यो गर/ऊ गर, यसो गर्न हुन्छ/यसो गर्न हुँदैन भनीरहने पनि कोही नभएकोले उसलाई स्वच्छन्द विचरण गर्ने अवसर मिल्छ। अमेरिकामा ऊ वास्तब मै स्वतन्त्र भई।

अमेरिका, अनि त्यस माथि न्युयोर्क शहर। त्यहाँको भब्यता, फराकिला बाटा-घाटा, गगन चुम्ने भवनहरु, अनि त्यहाँको समृद्धि र शहरीकरण देख्दा ऊ आफु कुन दुनियाँमा छु भन्ने आँफैलाई पत्तो थिएन। त्यहाँका तिनै गगन मण्डलमा ऊ स्वतन्त्र पंछी झैँ उडेर आनन्दभूती प्राप्त गर्न चाहन्थी। आईफोन बोक्ने धोको आउँदा-आउँदैको पहिलो शपिङ मै पुरा गरी। उसलाई फोटो लिन तथा सामाजिक सन्जालमा झुन्डिइरहन अझ सजिलो भईदियो। तीनै सामाजिक सन्जालमा विचरण गर्दै गर्दा अनायासै कतै पोस्ट देख्छे- “बाँदर लड्ने भीरमा डोको बोकेर हिँड्ने केटीहरु विदेशमा साम्सुङ र आइफोन बोकी हिँड्छन्।”

उसले काठमाडौंमा डोको त पक्कै बोकिन होली, तर त्यो व्यंग्य मिश्रीत लेखाइले कता-कता काउकुती लगाए झैँ भने पक्कै भयो। फोन बाट ऊ आँखा हटाउछे, पुर्लुक्क माथि हेर्छे अनि मुसुक्क मुस्कुराउछे। आफ्नो एउटा फोटो पनि लिई हाल्छे। रातो लाली दलेको मुख चोसो पारेर टाईम्स-इस्क्वायर अगाडि खिँचेको त्यो फोटोले फेसबुकमा तहल्का पिट्छ। भोको ब्वाँसो झैं कुरेर बसेका फेसबुके साथीहरु, बिशेषत: भाले प्रजाती ह्वार्र आईपुग्छन्, वाह-वाह गर्न। ऊ हौँसिदै जान्छे। तर उसको त्यो स्वतन्त्रताको आवरणमा भने कमल रमाउन सकेन।

टाईम्स इस्क्वायरको त्यो फोटोमा वाह-वाह गर्नेको पंक्तीमा उसको अनुपस्थिती थियो। उसले सरलाका हरेक फोटाहरुमा आफ्नो अनुपस्थिति मात्र देख्दथ्यो। तसर्थ उसका यस्ता कुराहरु कमललाई “कागलाई बेल हर्ष न बिस्मात” पर्याय हुँदै गए। तर जे जसो भए पनि, दूरी-अन्तरका बावजुद पनि ऊ सरला प्रतिको प्रेम एक रत्ती पनि कम हुन दिन्न भन्ने अठोटका साथ बस्तथ्यो। यसर्थ कमल आधुनिक युगको रोमियो भन्दा कम थिएन, तर उसकी सरुलाई अमेरिकाको हावा मज्जाले चढ्दै छ भन्ने कुराले ऊ चिन्तित हुन थाल्यो। परिवर्तन प्राकृतिक हो, सबैमा आउँछ, तर सरलामा देखिएको परिवर्तनको गती चाँही अली रफ्तार नै थियो। बिदेशी भूमि, बिदेशी मानिसको भिड, त्यमा पनि सेता पुतलीका अलग्गै भिड –हो ऊ त्यही भिडमा मिसिन चाहन्थी।

समय बित्दै गयो, समय सँगै सरलाका कपडाका आकरहरु पनि स्वत: छोटिदै गए। पुरा शरीर छोप्ने लुगा लगाउन लाज लाग्न थालेकी उसलाई कहिले साउना त कहिले सन-बाथ चाहिने भयो। नियमित पार्लर गएर नथाक्ने भई। रुची जे सुकैमा होस् तर ऊ अब चिया नभएर कफि र क्यापिचिनोको सुर्पी लगाउन थालेकी थिइ। ऊ पूर्णत: पश्चिमेली जीवन-शैली अंगीकृत गर्न उत्प्रेरित हुँदै गई। उसले नेपाली साथीहरु पनि बनाइ, तर नेपाली भन्दा खैरा-फुस्रा साथी बनाउनमा बढी आशक्त भई। उनै गोरा केटा-केटी सँग उठ-बस हुँदा, अंकमाल या चुम्बन जस्ता कुराहरु हात मिलाए जस्तै सामान्य हुन थाले। उनीहरुको बिचमा ऊ सरला नभएर सार्लिन भनी चिनिन थाली सकेकी थिई। “देश अनुसारको भेष” यसैलाई भन्दा हुन् क्यार तर उसमा आइरहेका यस्तै-यस्तै परिवर्तनहरु बारे उसको कमल सँग पनि बिमति हुने गर्दथ्यो। त्यस्ता प्रसँगहरुमा कमललाई भन्थी- “तिमीले केही देखेकै छैनौ कालु, संसार कहाँ पुगि सक्यो।” -शब्द सामान्य तर भाव तिखो, कमल चुप हुन्थ्यो। आखिर ऊ गर्नै पो के सक्थ्यो र? उसले आफ्नी ठानेकी प्रियदर्शिनीको नजरमा ऊ अब एक बिपन्न मुलुकमा रहने गँवार केटो देखिन थालेको प्रतित हुन्थ्यो। आफ्ना प्रेम-फूलका पत्रहरु क्रमश: चुँडिदै गएको महसुश हुन थाले पछि कमल नीराश हुँदै गयो।

सरला आफू विश्वविद्यालयमा अत्याधुनिक शैलीमा बिदेशीहरु सँगै पढ्ने जस्ता कुरा गर्वका साथ साथीहरुलाई सुनाउँथी। आफू अमेरिकामा बस्ने भन्ने कुरा नै उसलाई सबै भन्दा ठुलो गर्वको बिषय हुन्थ्यो। पहिलो सेमेस्टर मज्जाले अगाडि बढ्दै थियो। घर बाट ल्याएका पैसा सकिँदै गर्दा पनि ठाँटिएर हिंड्न केही कसर बाँकी राखिन उसले। न्युयोर्कका कुनै सडकमा रेबन चस्मा र गोल-टोपीमा सजिएर अनि चुच्चे जुत्तामा उचालिएर हिँड्न पाउदा ऊ दङ्ग पर्छे। सुइराले आईस कफी तान्दै, कानमा एयर-पिसको ठेँटो जोडेर लेडी गागा र ब्रुनो मार्सका अंग्रेजी गाना सुन्दै हिँड्दा ऊ मनमनै आँफैलाई धिक्कार्न थाली- “जीसस्! मेरो जन्म यस्तो स्वर्गमा नै किन भएन होला!” तर बिधीको बिडम्बना, पैसा बिना बिदेशी पारा धेरै किन टिक्थ्यो र? ‘एफ-वन्’ अर्थात स्टुडेन्ट भिशामा आएको मान्छे, खोजे जस्तो काम पनि नपाईने। कुनै नेपाली रेस्टुरेन्टमा वेटर या भारतीय साहुका पेट्रोल पम्पको क्यासियर भन्दा बाहिरका काम पाउनु सजिलो थिएन। अर्को सेमेस्टरमा तिर्ने पैसाको जोहो गर्नु बाँकी थियो। पढाई छोडेर बस्न पनि नपाईने, अनि पढाई बाहेकको हप्ताको २-३ दिन मात्र काम गरेर पैसाले नपुग्ने देखे पछि यदा-कदा ऊ ग्रीन-कार्ड कसरी बनाउने होला भनेर सोच्न थाली। ऊ अरुको ध्यान आफू तर्फ कसरी खिच्ने भन्नेमा तल्लिन हुन लागी। आँफू तीर आकर्षित हुने सँग बढी झ्याम्मिने र आफूलाई खर्च गर्नेहरु प्रति लालायित हुने प्रबृतिको बिकाश हुदै गयो। यस्तैमा सँगै पढ्ने एक गोरे मानिस सँग उसको हिमचिम बढ्न थाल्यो।

गोरेले, सरलाको क्लास या बजार, आउँदा-जाँदा गाडीमा पु-र्याउन थाले पछि उनीहरुको सम्बन्ध अझ प्रगाढ हुँदै गयो। समयको बहाव सँगै उनीहरु एक अघोसित प्रेम-जोडी हुन बेर लगेन। गोरे सरलालाई ऊ प्रतिको प्रेम इजहार पनि गरिरहन लाग्यो। उसले सरलालाई आफ्ना साथीहरु सँग पनि भेटघाट गरायो। नाक खुम्च्याउँदै वाइनबाट पिउन सुरु गरेकी ऊ अब गोरे हुलमुलमा आँफै कक्-टेल बनाउने भई। ऊ मांस-भक्षणका सवालमा खसी-कुखुरा होस या राँगा-गोरु, कुनै भेदभाव राख्न छोडी दिई। दाल-भात बनाउने, भाँडा माझ्ने काम उसको लागि झन्झटिलो लाग्न थालेकाले मोटा बर्गर र पिज्जामा उसका कयौं छाकहरु टर्न लागे। पढाईका अलावा थिएटर, क्लब, क्यासिनो, बार, गेट-टुगेदर, बार्बिक्यु, मदिरा-पान, अनि समुद्री किनारामा बालौटे खेल उसका जीवनका नयाँ पक्षहरु बन्दै थिए। एक शनिबार कुनै समुद्री किनारामा सरला कालो चस्मा र अर्ध-वस्त्रमा सूर्य-ताप लिन्छे। उही गोरे सँग नारिएर २-४ सेल्फी पनि मार्छे। पर समुद्र तिर हेरेर के-के कुरा सोच्दछे, त्यतैबाट आएको एक फोक्सो चिसो हावा पनि लिन्छे अनि फेसबुकमा स-तस्विर स्टाटस हाल्छे- Life is beautiful, we just need to know how to enjoy it. [जीवन रमणीय छ, मात्र हामी त्यसको रस कसरी लिने भन्ने जान्नु पर्दछ]

यता त्यो देखे पछि कमल हाँगाबाट खसे झैँ भयो। त्यसो त उसको फोन र म्यासेजको प्रतिउत्तर आउन पनि बिस्तारै कम हुँदै गएको थियो। दुई जनाको कचकचमा सरलाको थर्काइ खाएको पनि धेरै भएको थिएन। उसले रीसाउँदै भनेकी थिई- डिस्टेन्स लभ पनि कहीँ सक्सेस हुन्छ? बिरुले आँफुलाई बेसाहारा ठान्यो, प्रेम-पीढाले प्रताडित हुन थाल्यो। त्यस पछि उसका कैयौ प्रश्नका जवाफ आएनन्, आई नै हाले पनि ठाडो, रुखो र टर्रो स्वादमा आउन लागे। उसका रातहरु प्राय: अनिदो भई बित्न थाले। एकान्त र बिरहका गीतहरु प्रीय हुन लागे, उनै गीतले मोबाईल भरिए अनि उसलाई तिनै अँध्यारा निर्जन रातहरुमा साथ दिन थाले। ऊ गीत दोहोर्याई- त्हेर्याई सुन्दथ्यो, आँफै पनि गाउँदथ्यो। उसको यस्तै अवस्थाका संकेतहरु सरलाले फाट्ट-फुट्ट फेकेबूकमा देख्दथी, तर मौन रहन्थी।

एक शुक्रबार राती कुनै एउटा नाइट क्लबबाट निस्के पछि गोरेले सरलालाई फिल्मी शैलीमा अंग्रेजीमा भन्यो- सार्लिन! तिमी कती सुन्दर छौ! तिमीलाई म औधी प्रेम गर्छु, तिमी बिना मेरो केही अस्तित्व नै छैन, म तिम्रो सधैंको हुन चाहन्छु प्रिया। त्यो रात सरलालाई नीँद्रा लागेन। स्वदेशी प्रेम र बिदेशी प्रेमलाई उसले दाँज्न थाली। “यतिका बर्ष सम्म पनि कमलले कहिल्यै यसरी खुलेर माया गर्छु भन्न सकेन। अँह! भन्दै भनेन। मन भित्रको माया कसले पो देख्छ र? आखिर म हिंडी हालें, ऐले त अरु सँगै सल्कीई सके पनि होला!”

समय बित्दै गयो। अमेरिका आउँदा ल्याएको पैसा पहिलो सेमेस्टर पुरा हुँदा-नहुँदै सकियो। नभन्दै सेमेस्टर पनि सकियो। उसलाई आर्थिक समस्याले सताउन शुरु गर्‍यो। विद्यार्थीले बिचमा पढाई छोडेको खण्डमा उसको भिशा स्वत: रद्द हुन्छ भन्ने उसले बुझेकी थिई, तै पनि तत्कालै शुरु हुने विश्वविद्यालयको अर्को सेमेस्टरको रजिश्ट्रेशनको लागि पैसा पु-र्याउन गाह्रो भयो। बैकमा क्रेडिट कार्डहरु एप्लाई गर्दा अनि आफन्ती/साथीभाई बाट पनि पैसाको जोहो हुन नसके पछि ऊ पढाई छोडेर यता-उता भौतारिन बाध्य भई।

एकापट्टी कानुनी रुपले अबैध अनि अर्को पट्टी ग्रीन कार्ड नभइ राम्रो काम नपाउने हुनाले ऊ यथाशक्य त्यही हरियो-पत्तो बनाउन पट्टि हतारिई। आफ्नो गोरे आफू सँग बिहे गर्ने मनसाय भए नभएको बुझ्न खोजी तर ऊ पढाईको कारणले अर्को ४-५ बर्ष बिहे गर्न तयार नभएको थाहा भयो। कानुनी रुपमा तत्कालै बिहे भए पनि २ बर्ष सँगै बसेको प्रमाण हुनु पर्ने नत्र हरियो-पत्तो नै रद्द हुन सक्ने कुरा बुझे पछि उसका आशाहरु अझ मरेर गए। जीवन चलाऊन त्यति सजिलो कहाँ हुन्थ्यो र? जीवनका सुन्दर रसिला भाग मात्र होइन, यसका कुरूप र रङहीन भागहरुको पनि स्वाद चाख्न थाल्दै थिई ऊ। गूलाव केवल सुन्दरता र मादक सुगन्ध लिएर बसेको हुँदैन, वरिपरि काँडाले घेरिएर पनि रहेको हुन्छ भन्ने सत्यको तथ्यबोध गर्दै थिई सार्लिन।

पढाई छुट्यो, काम पनि नियमित भएन। केहि समय त्यसै बित्यो तर स्थितिमा कुनै सुधार आएन। गोरे आँफैमा विद्यार्थी थियो। उसको भावात्मक मायाले सरलाको समस्या सुल्झने वाला थिएन। । न्युयोर्कको महँगीमा पखेटा फिँजाएर उडिरहन नपाए पछि ऊ बिकल्पको खोजीमा लागी। अन्य साथीहरुको सहयोग र परामर्शमा ऊ टेक्सास जाने भई।

टेक्सास, भौगोलिक हिसाबले अमेरिकाको सबै भन्दा ठूलो राज्य। नेपालीहरु प्रशस्तै भएका, विद्यार्थीलाई पढ्न र कामको लागि केही सहज स्थल। उसलाई एयरपोर्टमा लिन दुई वटी नखरमाउली जस्ता देखिने केटीहरु आए- एउटी कविता, अर्की चाँही पेमा। कविता सँग सरलाले फोनमा कुरा पनि भएको थियो। टेक्सस राज्य न्युयोर्क भन्दा धेरै कुराले भिन्न लाग्यो। मान्छे भन्दा धेरै स-साना घरहरु, घरहरु भन्दा धेरै गाडी र हाइवेहरु। नयाँ साथीका कोठा पुगुन्जेल उसले न्युयोर्कका जस्ता गगन चुम्ने घर बिरलै देखी। आफ्ना समानहरु सँग कोठामा पुग्दा पो ऊ छक्क पर्छे। दुई बेड रुम अपार्ट्मेन्ट रहेछ। हल्का फुस्-फुस् गन्ध स्वास सँग लिँदै आँखा सरसर्ती चारै तर्फ डुलाउँछे। कोठा भर्खर भाडामा लिए जस्तो खाली नै खाली तर छेउको भन्साको गती देख्दा चाँहि त्यो कुरा गलत सबित हुन्थ्यो। भाँडा धुने बेसिनमा कट्कटिएका जुठा भाँडा कुरी-बसेका रहेछन्। कालो कुकर त्यहाँ सरदार जस्तो देखिन्थ्यो। भान्सा छेवैमा फाल्न नभ्याइ राखेका एक भारी पिज्जाका डब्बाहरुमा आँखा पर्दै गर्दा कबिताले लाज पचाउदै भनी- हामी त जंगली हौँ क्यारे, यो हप्ता मोटीको पालो थियो, सफा नगरी बसेकी छ। सरला कस्तो प्रतिकृया दिने भन्ने सोच्न सकी रहेकी थिइन। हाते ब्याग तल राख्दै गर्दा एउटो साङ्लो खुर्र अर्को तिर भाग्यो। ऊ झस्किई। कोठाका कुना-कुनामा यत्र-तत्र छरिएका किताब-कापी, लुगाहरु, लुगा धुन लैजाने बास्केटमा फोहोर मोजाको थुप्रो र कार्पेटका साना-ठुला दागहरु देखेर ऊ हैरान भई। “केटीहरु बस्ने कोठा पनि यस्तो?” उसले मन-मनै भन्छे – “जिसस् क्राइस्ट! हुँदा हुँदा म कस्तो ठाउँमा आई पुगेँ हँ? मलाई दशा लागेकै हो त?”

सरला केहि बेर सम्ममा त्यहाँको स्थिति सँग अभ्यस्त हुँदै गई। सल्लाह मिले पछि तीनै जना बाहिर तिर निस्किए। एउटा नेपाली रेस्टुरेन्टमा टन्न खाना खाएर बहिर निस्कँदै गर्दा सरलाले ती दुईलाई पछाडि बाट हेर्छे। गुची र सफोराका स्टोरहरुमा पाइने अत्तरहरु हावामा मग्मगी फिंजाउदै हिंडेका यी अल्लारे केटीहरुलाई देखेर उसले मन मनै सोच्छे- “बाहिर रिबनको फोको, भित्र जुम्राको पोको” भन्या चाहीँ यही नै होला क्यारे! साग-सब्जीको समेत किनमेल सकेर उनीहरु घर फर्किए। लामो यात्रा भएकोले सरलालाई साँझ नपर्दै नीँद लाग्यो। उसको हालत देखेर कबिताले आफुँ सुत्ने डसना बिछ्याइ दिई अनि तन्ना दिँदै भनी- “विद्यार्थी परियो हामी सबै, जसरी पनि चलाऊन पर्दो रहेछ।” “चिसो बढी भयो भने ए.सी. बन्द गर्नु ल!”भन्दै ऊ काम तिर लागी। सरला बिछ्यौनामा पल्टिएर आराम गर्न खोजी। निदाउँने प्रयासमा उसले तन्नाले मुख छोप्छे। टेक्सासको कुनै एक कुनामा भुईमा लमतन्न सरला मनमनै सोच्छे- “नेपाल मै बरु कमसेकम खाट माथि त सुतिन्थ्यो।” यस्तैमा ऊ निँदाउँछे, तर केही बेरमा उसको नींद्रा तव खुल्छ जब कसैले लात्तीले घच्घच्याउँदै भन्छ- “ओए उठ्ठो! ओए उठ्ठो!! काम मे जाना नहीं हे क्या?” सरलाले पुर्लुक्क टाउको निकाल्छे। “ओ सरी! मेने सोचा कि तुम कविता हो।”- त्यो जब्बर प्राणी त्यही “मोटी” रहिछ, भारतीय। कोही आउँदै छ भनेर यसलाई थाहा समेत दिएका रहेनछन् कसैले।

तीन वटी साथीको साथ पाए पछि सरलालाई काम पाउन बेर लगेन। एक्-आपसमा मनका कुरा साटा-साट हुन थाले। छुट्टीका दिनमा केटीहरु कहिले सिनेमा या सपिङ गर्थे त कहिले घरमै मदिरा-पान तर सबै आ-आफ्ना तालका- सरला र कविता सर्वहारा, पेमा वाइन मात्रै खाने रे अनि मोटी चाँही दारु-पानी नगर्ने भएकोले बाहिरै केही गरौँ भन्ने। उसलाई हुक्का-बार जाने ज्यादै सोख हुने गर्थ्यो। यी चारमा सबैको रुची अनुसार ‘होस्टेमा हैँसे’ पनि हुने गर्थ्यो। एक दिन कुनै हुक्का बारमा यी चेलीहरुको दारु-पानी चल्दै थियो। दुई वटा चिम्नी जस्ता नाकका फोन्द्राबाट हुक्का-धुँवाको लाम्-लामा मुस्ला फ्याँक्दै सरलाले भनी- त्यो गोरे मुर्धारले मलाई डम्प गर्‍यो। सबै झस्किए, अनि सहानुभूतिका आँखाले ऊ तर्फ हेरे। ऊ पीडा पोख्दै गई- कमिट्मेन्ट भए डिस्टेन्सले केहि फरक पार्दैन भन्दा पनि अहँ सुन्दै सुनेन। तर ठीकै छ, म जे छु खुशी छु। उसबाट ग्रीन कार्ड बन्ने पनि होइन। बरु एक जना आइरहन्छ मेरो स्टोरमा, अंकुर भन्ने।

अंकुर सँग उसको हिमचिम पनि बढीरहेको रहेछ। एक ठाउँबाट उफ्रिएको बल कही न कहीँ अडिनु त थियो नै। भर्खर पढाई सकेर बसेको अंकुरलाई आफू सँग अझ बढी नजिक हुन सरलाले स्विकृत गरिदिई। अंकुर उसको जीवनमा बहार लिएर आयो। समय-गंगाको बहाव सँगै अंकुरका साथी-भाई सँग पनि चिनाजानी हुनु स्वाभविक थियो। २-३ महिना मै भेट्-घाट, घुमघाम र जाँड-पार्टी गर्ने टोली अझ ठूलो भयो। सरलाका बिगतका सम्बन्ध-इतिहाँसबारे अंकुरका साथी-भाईले गाँई-गुइँ सुनेका थिए। यस्तैमा कुनै एक जना कहाँ टिभीमा अमेरिकी फूटबल सँगै मदिरा-मस्ती गर्न केटा र केटीहरुको ठुलै टोली जम्मा भएको थियो। अंकुर, सरला लगायत उसका साथीहरु सम्मिलित त्यो बसाँईमा गेम सकिसके पछि पनि सबैका हात्-हात बोत्तल थिए। कोही मात लागेर बढी बोल्दै थिए। दारु चल्दै थियो। सबैको हाउभाउमा बैश र मात दुबै छचल्किँदै थियो। यस्तै होहल्लामा कुनातिर अंकुरलाई उसको एक जनाले साथीले सानो-ठूलो आवाजमा सरलाको बारेमा अनेकन प्रश्न सोध्दै थियो। “सरलालाई चाँही किन रोजीस् हँ?” भन्ने एउटा प्रश्नको जवाफमा अंकुरले भन्यो- “यो त गर्ल-फ्रेन्ड मात्र हो, बिहेको लागी त नेपाल मै केटी खोज्नु पर्छ ब्रो!“ तर उनिहरुको कुरा सरला कि एक जना साथीले ख्याल गरी रहेकी रहिछ। क्षण भर मै त्यो कुरा सरलाको कानमा पुग्यो। त्यस पछि के चाहियो र? आफ्ना जीवनका अनेकौँ समस्यालाई मुस्कुराउँदै सहर्ष सहन गर्ने शक्ति स्त्री जातीमा रहन्छ तर उनिहरु आफ्नो भावनामा खेलवाड गरेको कदापि सहँदैनन्। त्यो उच्च आदर्श उपर रक्सीको उन्माद, स्थिती बिग्रन केहि बेर लागेन। होहल्ला र झगडा पछि रुँदै गरेकी सरलालाई साथीहरुले त्यहाँ बाट निकाली घर सम्म ल्याए। सरलालाई रात भर नीँद्रा लागेन। मलाई कुनै केटाको विश्वास छैन- मनमा यस्तै अनेकौँ तर्कनाहरु खेली रहे। उसको “गर्ल-फ्रेन्ड मात्र बनाइने केटी” र “बिहे गर्ने केटी” बिचको भेदको अर्थ निकल्न आफू लगायत अन्य केटीहरुको जीवन-ईतिहासमा सर्सर्ती दगुरी। फेरी एक पल्ट कमल, गोरे र अंकुरलाई पनि तुनला गरेर हेरी। तर सारांश सुझेन, केवल जटील, अपूर्ण तर मानव-सोच उपरको दर्शन-शास्त्रोन्मुख रह्यो। उ फेरी स्वतन्त्र हुन चाही, तर यो स्वतन्त्रता पहिलेको भन्दा अवश्य नै भिन्न खालको थियो। उसलाई यी सबै तनाबका तानाबाना सँग टाढा रहने इच्छा जाग्रित हुन लाग्यो।

उसको अमेरिकामा हुने साँकृतिक कार्यक्रमहरुमा रुची बढ्न थाल्यो। भारतीय साथी सँग गर्वा-नाच हेर्न पनि गई तर त्यहाँ छोटा कपडा लगाइ जाने ऊ मात्र भएकोले दर्शक कै बीचमा लाज खेप्नु पर्‍यो। ठाउँमा जहाँ भए पनि आफ्नो संस्कृतिलाई आफ्नो मौलिकता मै मनाउन सकिँदो रहेछ भन्ने कुरा भने सिक्न पाई। नेपाली कै तीज-नाचमा त्यो गल्ती दोहोरीएन। यस्तैमा आफूलाई अत्यन्त माया गर्ने हजुर-आमा नेपालमा सिकिस्त बिमारी परिन् भन्ने खबर आयो। बुढी भएकी उनलाई भेट्न जाने इच्छा भयो। तर पढाई छोडेर गैर-आवसीय सम्बन्धी नियम तोडेकोले नेपाल गएमा फर्कन नपाइएला भन्ने डर उसमा थियो। “यस्ता समस्या बरोबर आइ रहलान्, कहिले सम्म यसरी डरमा बसीरहनु हँ?” भन्ने अन्तर्चेतले उसलाई झक्झक्यायो। ऊ बिचलित भई, आकुलताले छट्पटाइ, तर “हर समस्याका समाधान त हुन्छन् नै” भने जस्तो पढाई छोडेको ५ महिना नाघी नसकेको अवस्थामा पढाई-पुनर्स्थापना (Re-Instate) गर्न पाइने प्रवधान हुन्छ भन्ने कुरा एक जना दाई बाट सुने पछि उसको खुशीको सिमा रहेन। जीवनका रङिन र रङहिन दुबै भागहरुको स्वाद चाखी सकेकी उसले थोरै समयमा धेरै कुरा सिक्ने मौका पाएकी थिई। ऊ पढाईको साथ-साथै टोपवाल “सार्लीन” को जीवन-चर्या नभएर “सरला” कै सरल मार्ग रोज्ने बिचार गरी। आशाको एक सरो किरणमा जल-प्रपात र पर्वत नै नाघेर अन्जान स्वप्न-परीको खोजीमा हिंड्ने ‘बाहुबली’ भेट्ने कुरा त कल्पना मात्र हो भन्ने पनि राम्ररी बुझी सकेकी छे उसले।

अचेल सरला प्रत्येक सोमबार मन्दिर धाउने गरेकी छे रे। बरान्डाको छेउमा एक दिन चियाको सुर्पी लिँदै गर्दा कमल सँगैका पलहरुको अनुस्मरणहरु स्मृतीमा नाची रहन्छन्। मोबाईल-फकेबूकमा धेरै बेर टहलिन्छे, के-के कुरा सोच्छे अनि हठात् कमललाई एक म्यासेज लेख्छे-
कमल! म सँग रिसाएका छौ होला, हैन? मेरो याद आउछ?

- माइसन्सारबाट 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   मुनामदनका संगीतकार शर्माको निधन
2.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
3.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
4.   भविनको ‘छायाँ’ विमोचित
5.   तिम्रो विर्यको मुल्य कति ?
6.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
7.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
8.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
9.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
10.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
11.   बसन्तले ल्याए भुमरी उपन्यास
12.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
13.   हिमालको गोठालो लोकार्पित
14.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
15.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
16.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
17.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
18.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
19.   नारी स्रष्टाहरु सम्मानित
20.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
21.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
22.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
23.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
24.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
25.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
Results 62: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media